राष्ट्रिय/अन्तराष्ट्रिय

आर्थिक वर्षको तेस्रो सार्वजनिक सुनुवाइ  सम्पन्न 


मोरङको सुन्दरहरैंचा नगरपालिकाको चालु आर्थिक वर्षको तेस्रो सार्वजनिक सुनुवाइ सोमबार सम्पन्न भएको छ । सार्वजनिक सुनुवाइमा उठेका जिज्ञासाको जवाफ नगर प्रमुख शिवप्रसाद ढकाल, उपप्रमुख धनमाया तामाङ र प्रमुख प्रशासकीय अधिकृत जीवन आचार्यले दिएका थिए ।
उपभोक्ता समितिलाई वडा समितिले अनावश्यक दुःख दिने गरेको, सामुदायिक विद्यालयको अवस्था दयनीय रहेको, मजदुरका समस्या समाधानमा चासो नदिएको, लक्षित वर्गलाई तालिम दिने तर स्वरोजगार बन्न अभिप्रेरित गर्ने गरी कार्यक्रम ल्याउन नसकेको भनी नगरवासीले आरोप लगाएका थिए ।
प्रमुख प्रशासकीय अधिकृतलाई मातहतका कर्मचारीले नटेरेजस्तो देखिएको सहभागीले बताएका थिए । प्रमुख प्रशासकीय अधिकृतले तोक लगाएको काम विभागीय शाखा प्रमुखले गर्न नचाहेको तथा विभिन्न बहानामा झुलाउने प्रवृत्ति देखिएको सहभागीको भनाइ थियो । प्रथम नगरसभाबाट पारित भएको ‘मुस्कानसहितको सेवा, जनताको पेवा’ नारामा मात्रै सीमित भएको नगरवासीको आरोप थियो ।
नगरवासीले सोधेका प्रश्नको जवाफ दिँदै नगरप्रमुख ढकालले पहिलो वर्ष काममा अभ्यस्त हुन समय लागेकाले प्रथम नगरसभाबाट पारित सबै निर्णय कार्यान्वयन गर्न नसकिएको बताए । ती निर्णय कार्यान्वयनको चरणमा रहेका र क्रमशः कार्यान्वयन गरिने उनको भनाइ थियो । शिक्षा क्षेत्रको विकृति हटाउन र मजदुरका माग सम्बोधन गर्न नगर कटिबद्ध भएको ढकालले बताए ।

<