स्थानीय समाचार

ठूला खाडलले कोसी ब्यारेजमा बढे दुर्घटना

पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुनसरी र सप्तरीको सिमानामा पर्ने कोसी ब्यारेजको पुलमा ठूला खाडल पर्दा दुर्घटना बढेको छ । वर्षामा खाडलमा पानी जम्दा दुर्घटना झनै बढेको छ ।  गत ६ असारमा हेटौँडाबाट  विराटनगर जाँदै गरेको स्काभेटर  बोकेको ट्रक कोसी नदीमा पल्टियो । सो दुर्घटनामा दुईजनाको मृत्यु भयो भने सात घाइते भए । पुलको खाडल  जोगाउने क्रममा ट्रक विपरीत दिशामा गएर पुलबाट झरेको थियो ।
गत जेठमा पनि एउटा ट्रक पुलबाट नदीमा खसेको स्थानीयले बताएका छन् । पुलमा भएका दर्जनौँ खाडलका कारण सामान्य खालका दुर्घटना दैनिक हुने स्थानीयको भनाइ छ । वर्षामा खाडलमा पानी जम्दा मोटरसाइकल बढी दुर्घटनामा पर्ने उनीहरूले बताए ।
धरान–बेलटार गुड्ने बसका चालक विनोद कार्कीका अनुसार कोसी ब्यारेजको पुलमा दुई वर्षदेखि ठूला खाडल पर्न थालेको बताए । ‘खाडल बढ्दै गएका छन्, मर्मत भएको छैन, राति र खाडलमा पानी जमेका वेला गाडी कुदाउनै गाह्रो हुन्छ,’ उनले भने ।
बाइक, कारलगायत साना सवारीसाधनलाई पुल क्षेत्र पार गर्न निकै सकस हुने गरेको छ । खाल्डामा पानी जमेर गहिराइ अनुमान गर्न नसक्दा नयाँ सवारीचालकलाई ठूलो जोखिम हुने गरेको छ ।
पुल मर्मतका लागि नेपालले केही पनि गर्न नसक्ने सडक डिभिजन कार्यालय विराटनगरका प्रमुख जितेन्द्र चौधरी बताउँछन् ।
भारतीय पक्षका इन्जिनियर लाल दासले पुलनजिकको सडक मर्मतको टेन्डर आह्वान भएको जानकारी दिए ।
 

<