राष्ट्रिय/अन्तराष्ट्रिय

विपद्ले ८ दिनमा ४५ जनाको मृत्यु, २० घाइते 

मनसुनी वर्षासँगै भएका प्राकृतिक विपद्का घटनामा परेर विगत ८ दिनमा ४५ जनाको मृत्यु भएको छ ।
गृह मन्त्रालयका अनुसार असार १८ गतेदेखि असार २५ गते बिहानसम्म ३४ जिल्लामा भएका विभिन्न घटनामा परेर ४५ जनाको मृत्यु भएको हो । प्राकृतिक विपद्मा घटनामा परेर २० जना घाइते भएका र ९ जना बेपत्ता भएका छन् । ८ दिनको अवधिमा सबैभन्दा बढी बाँकेमा ४ जनाको मृत्यु भएको छ । खोलामा तर्ने क्रममा १ जना, पौडी खेल्ने क्रममा २ जना र डुबेर १ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ ।


घर भत्किएर, खोलाले बगाएर, आगलागी, माटोको ढिस्कोमा पुरिएर, खोला तर्ने क्रममा, सर्पले टोकेर, वर्षाले घर भत्काएर, भीरबाट लडी नदीमा खसेर, चट्याङमा परेर लगायतका घटनामा परेको मानिसको मृत्यु, घाइते र बेपत्ता भएका छन। रोल्पा, पर्सा, सिरहा र सिन्धुली जिल्लामा ३र३ जनाको मृत्यु भएको छ भने मकवानपुर, तनहुँ, बारा, सर्लाही, रौतहट, मोरङ र नवलपरासी पश्चिममा २ र २ जनाको मृत्यु भएको छ ।


गृह मन्त्रालयका अनुसार कैलाली, बर्दिया, दाङ, चितवन, काठमाडौं, महोत्तरी, उदयपुर, कञ्चनपुर, सिन्धुपाल्चोक, सुनसरी, सुर्खेत, सप्तरी, प्युठान, नवलपरासी पूर्व र झापामा १ र १ जनाको मृत्यु भएको छ । विपद् प्रभावितलाई प्रकोप पीडित उद्दार र राहत सम्बन्धी मापदण्ड ९छैठौं संशोधन० २०७४ बमोजिम राहत प्रदान गर्ने गरिएको मन्त्रालयले जनाएको छ ।
 

<