स्थानीय समाचार

पूर्वमा मिटरब्याजविरुद्ध सीआईबीको अप्रेशन, पक्राउ परे ८ व्यवसायी

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पूर्वको विभिन्न ठाउँमा नेपाल राष्ट्रिय बैंक तथा सहकारी विभागबाट अनुमति समेत नलिइ चर्को ब्याजदरमा ऋण प्रवाह गर्ने विरुद्ध अप्रेशन चलाएको छ ।
प्रदेश नं. १ को क्षेत्रीय अनुसन्धान टोली (आरआईटी) सँगको सहकार्यमा सीआईबीले चलाएको अप्रेशनको क्रममा ८ जना व्यवसायी पक्राउ परेका छन् । वित्तिय कानुन विपरित कार्य गरेको आरोपमा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा सुनसरीको इटहरीस्थित ओपन इन्भेष्टमेन्ट प्रा.लि.का ४० वर्षीय भीमप्रसाद चौधरी, ५० वर्षीय श्याम पेशकार थारु, हलेसी इन्भेष्टमेन्ट प्रा.लि., धरानका ३१ वर्षीय चन्द्रबहादुर विक, २९ वर्षीय अनिता विक, चौतारी इन्भेष्टमेन्ट प्रा.लि., बिराटनगरका २७ वर्षीय राजु शाह, मन्सुन इन्भेष्टमेन्ट प्रा.लि., इटहरीका ३४ वर्षीय सुनिल गुरागाईं, छिन्ताङ इन्भेष्टमेन्ट प्रा.लि, इटहरीका २८ वर्षीय डिल्लीप्रसाद आचार्य र ३५ वर्षीय प्रकाश आचार्य रहेका  छन् ।
प्रहरीले ओपन इन्भेष्टमेन्टबाट अवैध रुपमा सङ्कलित रकम दुई करोड ३९ लाख, हलेसीबाट ६ करोड ९९ सय लाख, चौतारीबाट ८ लाख ६१ हजार र मन्सुन इन्भेष्टमेन्टबाट ५० लाख रुपैयाँ बरामद गरेको छ ।
छिन्ताङ इन्भेष्टमेन्टले भने केही समय अघिबाट मात्रै कारोबार गर्न सुरु गरेको सीआईबीले जनाएको छ ।
 

<