राष्ट्रिय/अन्तराष्ट्रिय

प्रदेश १ मा २ पदमा निर्वाचन हुने, २ घण्टामा परिणाम 


आज हुने राष्ट्रियसभा निर्वाचनको सवै तयारी पुरा भएको छ । १ नम्बर प्रदेशमा २ पदका लागि निर्वाचन हुँदै छ । मतदानका लागि विराटनगरस्थित वीरेन्द्र सभागृहमा २ वटा मतदानस्थल तोकिएको छ।  २ वटा मतदानस्थलमा ८ वटा मतपेटिका रहने मतदान अधिकृत पुण्यप्रसाद पाठकले जानकारी दिए। प्रदेश सांसदका लागि वीरेन्द्रसभागृहको उत्तरपट्टि तोकिएको छ भने स्थानीय तहका प्रमुख र उपप्रमुखका लागि दक्षिणतर्फ मतदानस्थल तोकिएको छ।  मतदान सकिएसँगै मत गणनाका लागि निर्वाचन आयोगबाट आयोगका तथ्यांक अधिकृत उर्मिला शाहीको नेतृत्वमा ३ सदस्यीय टोली विराटनगर आइपुगेको छ। साथमा तथ्यांक अधिकृत प्रेमकुमार घिमिरे र तथ्यांक सहायक अम्बिका रेग्मी रहेका छन्।  बिहान १० बजेदेखि सुरु हुने मत गणनाको समय दिउँसो ३ बजेसम्मका लागि छुट्याइएको छ । मतदान सकिएर गणना सुरु भएको २ घण्टाभित्र मत परिणाम सार्वजनिक गरिसक्ने क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख प्रेमप्रसाद संजेलले बताए । 
निर्वा्चित भएका राष्ट्रियसभाका सदस्यहरूलाई प्रमाणपत्र समेत आजै प्रदान गरिने कार्यक्रम रहेको छ । राष्ट्रियसभामा प्रदेशबाट निर्वा्चित हुने ८ जनामध्ये खुलातर्फ ३ र महिला ३ गरी ६ जना निर्विरोध निर्वा्चित भइसकेका छन्। अब २ पदको मात्र निर्वाचन हुने १ नम्बर प्रदेशको राष्ट्रियसभा निर्वाचन अधिकृत राजुकुमार खतिवडाले जानकारी दिए ।  अब दलित र अपांगता भएका वा अल्पसंख्यक कोटाका लागि बहुमतीय प्रक्रियाबाट निर्वाचन हुने भएकाले निर्वाचन कार्यालयलाई पनि एकल संक्रमणीय झन्झटबाट मुक्ति मिलेको उनले प्रतिक्रिया दिए। ८ पदका लागि हुने निर्वाचनमा यसअघि नै ३ महिला सदस्य र ३ खुला सदस्य निर्विरोध निर्वा्चित भइसकेका छन्। महिला कोटामा वाम गठबन्धनका नैनकला ओझा र बिना पोखरेल तथा नेपाली कांग्रेसकी सरिता प्रसाईं निर्विरोध भएका हुन्। 


 

<