राष्ट्रिय/अन्तराष्ट्रिय

उत्तर कोरियाले दक्षिण कोरियामा उच्च अधिकारी पठाउने


उत्तर कोरियाले यसै हप्ताको अन्त्यतिर दक्षिण कोरियामा आयोजित शीतकालीन ओलम्पिक खेलकुदको उद्घाटन समारोहमा आफ्नो सरकारका उच्च तहका अधिकारीलाई पठाउने भएको छ ।
यस शीतकालीन ओलिम्पिक खेलकुदकाक्रममा दुई देशबीचको सम्बन्धमा केही सुधार आइरहेको र विगतको तनाव पनि केही हदसम्म कम हुँदै गएका बेला यसरी उत्तर कोरियाले आफ्ना उच्च अधिकारीलाई त्यहाँ पठाउन लागेको हो ।
उत्तर कोरियाले आफ्ना संसदका प्रमुख किम यङ–नामलाई उत्तर कोरियाली प्रमुख प्रतिनिधिकारुपमा त्यहाँ पठाउन लागेको हो ।
उत्तर कोरियाली संसदका प्रमुख नाम विगत चार वर्षमा दक्षिण कोरियाको भ्रमण गर्ने सबैभन्दा उच्चपदस्थ उत्तर कोरियाली सरकारी अधिकारी हुने बताइएको छ ।
दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ‘ब्लू हाउस’का एक अधिकारीले नामको यस आसन्न भ्रमणले दुई कोरियाबीचको तनाव अन्त्य गर्ने उत्तर कोरियाली चाहना र उसको इमानदारीलाई दर्शाएको जानकारी दिएका छन् ।
उत्तर कोरियाली यी उच्चस्तरीय अधिकारी नामले २२ सदस्यीय प्रतिनिधिमन्डलको नेतृत्व गर्ने दक्षिण कोरियाली एकता मन्त्रालयले जनाएको छ । सो मन्त्रालयले उनको भ्रमणको पुष्टि गरेको बताइएको छ ।।
 

<