राष्ट्रिय/अन्तराष्ट्रिय

माल्दिभ्समा १५ दिने आपत्कालीन अवस्था घोषणा, 


माल्दिभ्समा बढ्दो राजनीतिक र संवैधानिक गतिरोधका बीच राष्ट्रपति अब्दुल्ला यामीनले १५ दिनका लागि आपतकालीन अवस्थाको घोषणा गरेका छन् ।
आपतकाल घोषणापछि सरकारले पूर्वराष्ट्रपति मौमुन अब्दुल गयुमलाई पक्राउ गरेको आरोप विपक्षी दलहरुले लगाएका छन् । तर सरकारी अधिकारीहरुले भने पूर्वराष्ट्रपतिलाई पक्राउ गरेको बारे कुनै प्रतिक्रिया दिएका छैनन् । राष्ट्रपतिका सहयोगी अजिमा शुकुरले सरकारी टेलिभिजनमार्फत् आपतकालीन अवस्था घोषणा भएको जानकारी दिएका हुन् ।
राष्ट्रपति यामीनले पनि ट्वीटरमार्फत् यसको जानकारी दिनुभएको छ । राष्ट्रपति यामिनले आपतकालीन अवस्थामा केही अधिकारको कटौती गरिए पनि सामान्य काम गर्न, व्यापार व्यवसाय गर्न भने कुनै असर नपर्ने स्पष्ट पारेका छन् । उनले देशका सबै नागरिक र माल्दिभ्सभित्र रहेका विदेशी नागरिकको सुरक्षा सुनिश्चित हुनेसमेत बताएका छन् ।
राष्ट्रपतिले आपतकालीन स्थितिको घोषणा गरेलगत्तै सुरक्षाकर्मीहरु सर्वोच्च अदालतभित्र प्रवेश गरेका थिए । गत शुक्रबार देशको सर्वोच्च अदालतले केही राजबन्दीहरुलाई रिहा गर्न तथा १२ जना सांसदहरुलाई पुनर्बहाली गर्न आदेश दिएपछि सरकारले त्यसलाई असंवैधािनक भन्दै आपतकालीन अवस्थाको घोषणा गरेको हो ।
माल्दिभ्स सरकारले यसअघि संसदलाई निलम्बन गर्नुका साथै सर्वोच्च अदालतले राष्ट्रपति अब्दुल्ला यामीनलाई महाभियोग लगाउने कुनै कदम उठाए त्यसको प्रतिरोध गर्न सेनालाई आदेश दिएको थियो ।।
 

<