आर्थिक

फापर, जुनेलो तथा फिलुंगेको खेतीमा आर्कषण वढ्दो

सहरमा माग बढ्दै गएपछि उदयपुरका गाउँमा हराउन थालेको फापर, जुनेलो तथा फिलुंगेको खेती बढ्न थालेको छ ।
गाउँगाउँसम्म पुगेका सडक पुगेपछि लोप हुँदै गएको बाली फापर, जुनेलो र फिलुंगेको खेती बढ्न थालेको हो । जिल्लाको पहाडी क्षेत्रका भिरालो, खोरिया र रुखो बारीमा समेत उत्पादन हुने फापर, जुनेलो, फिलुंगे, सिलाम खेती अहिले कृषकका आम्दानीको राम्रो स्रोत बन्न थालेका छन्। 
पछिल्लो सययमा बजार क्षेत्रमा उक्त बालीको माग बढ्न थालेकाले कृषकहरू त्यसको खेतीतर्फ आकर्षित हुन थालेका हुन्। केही वर्षअघिसम्म भुटेर खाजाको रूपमा  खानेबाहेक जुनेलोको प्रयोग खासै हुँदैन थियो। ‘बिक्री नहुने भएकाले जुनेलो हामी जाँड र रक्सी बनाउनु प्रयोग गर्थ्यौ,’ कटारी नगरपालिका–१२ का लख्खु राईले भने,  ‘अहिले घरबाटै बिक्री हुन थालेको छ।’ 
ग्रामीण क्षेत्रका कृषकले परम्परागत रूपमा उत्पादन गर्दै आएका जुनेलो, फापर, कोदो, फिलुंगे अहिले आम्दानीको स्रोत बनेको कृषकहरू बताउँछन्। ‘हामीले उत्पादन मात्र गर्नुपर्छ’, ताप्ली गाँउपालिका–४ थुम्कीकी नरमाया राईले भनिन्, ‘व्यापारीहरू घरमै किलो तराजु लिएर आउँछन्। त्यसैले खेतीलाई बढाउँदै लगेका छौं।’ 
गाउँमा खासै प्रयोग नभए पनि बजार क्षेत्रमा फापर, जुनेलो, फिलुंगेको माग बढी छ। धानको मूल्यभन्दा बढी मुल्यमा ती अन्न बिक्री हुन थालेको छ। जुनेलो प्रतिकिलो १ सय ३०, फापर ७० र फिलुंगे ४ सय रूपैयाँसम्ममा बिक्री हुने कृषकको भनाइ छ। 
 

<