आर्थिक

ताप्लेजुङका किसानले आलुखेतीबाट राम्रो आम्दानी

ताप्लेजुङका किसानले आलुखेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । अलैंचीपछि किसानले नगदेबालीकारुपमा आलुखेतीलाई प्राथमिकता दिन थालेपछि आम्दानी पनि राम्रो गर्न थालेका हुन् । जिल्लामा वार्षिक तीन अर्ब रुपैयाँ बराबरको आलु उत्पादन हुने गरेको छ ।
नगदेबालीमा सबैभन्दा बढी आम्दानी दिँदै आएको अलैंचीलाई पछ्याउँदै ताप्लेजुङमा आलु दोस्रो नगदेबालीकारुपमा स्थापित हुन थालेको छ । जिल्ला कृषि विकास कार्यालय ताप्लेजुङको तथ्यांकअनुसार आर्थिक वर्ष ७४र७५ मा तीन हजार २५ हेक्टर क्षेत्रफलमा ३७ हजार ८१३ मेट्रिकटन वर्षे र ९२५ हेक्टर क्षेत्रफलमा १० हजार ७३८ मेट्रिकटन हिउँदे आलु उत्पादन भएको छ ।
जिल्लामा बिक्री हुने आलुको औसत मूल्य ६० रुपैयाँ प्रतिकिलो कायम गरेर उत्पादनसँग तुलना गर्ने हो भने जिल्लाकै कृषकले २ अर्ब ९१ करोड ३० लाख ६० हजार रुपैयाँ बराबरको आलु उत्पादन गरेका छन् । अघिल्लो वर्ष करिब तीन अर्बको अलैंची जिल्लामा उत्पादन भएपनि बिक्री कम भएको थियो ।
 

<