खेलकुद

राष्ट्रिय ह्यान्डबलमा पुरुषतर्फ पश्चिमाञ्चल र महिलातर्फ सशस्त्र प्रहरी च्याम्पियन

राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत् राष्ट्रिय ह्यान्डबल प्रतियोगिताको पुरुषतर्फको उपाधि पश्चिमाञ्चलले जितेको छ । महिलातर्फ सशस्त्र प्रहरी बलको एपीएफले उपाधि रक्षा गरेको छ पोखरामा शनिबार सम्पन्न १८औं पुरुष ह्यान्डबलको फाइनल खेलमा घरेलु टिम पश्चिमाञ्चल विकास क्षेत्रले त्रिभुवन आर्मी क्लबलाई २९–२५ को गोल अन्तरले पराजित र्गयो ।
राष्ट्रिय खेलाडी विशाल बस्नेतको कप्तानीमा पश्चिमाञ्चल मैदानमा उत्रिएको थियो । प्रतियोगितामा उत्कृष्ट खेलाडी पश्चिमाञ्चलका हेमन्त थापा घोषित भए । त्यसैगरी, पुरुषतर्फ तेस्रो स्थानका लागि भएको खेलमा सशस्त्रले मध्यमाञ्चल विकास क्षेत्रलाई ६३–२९ को फराकिलो अन्तरले हरायो ।
प्रतियोगितामा आर्मी अनुशासित टिम घोषित भयो । सशस्त्रका दीपकसिंह बोहराले सेमिफाइनल र तेस्रो स्थानका लागि भएको खेलमा गरी ४८ गोल गर्दै सर्वा्धिक गोलकर्ता बने । शनिबारै पोखरा रंगशालामा सम्पन्न ९औं महिला राष्ट्रिय ह्यान्डबलको फाइनलमा सशस्त्रले आर्मीलाई २४–१५ को अन्तरले पराजित गर्दै उपाधि जित्यो । महिलातर्फ तेस्रो स्थानका लागि भएको खेलमा पूर्वाञ्चल विकास क्षेत्रले घरेलु टिम पश्चिमाञ्चललाई १८–१४ को अन्तरले हराएको छ ।
 

<